–रमेश लम्साल
‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् ।
घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत उल्लेख गरेका छन् ।
आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वाम गठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमा समेटेको छ ।
केही दलले आफूहरु मात्रै लोकतन्त्रको पहरेदार भएको र वाम गठबन्धन प्रजातन्त्रविरुद्ध रहेको भन्दै गरिरहेको प्रचारसमेत आफ्नो कमजोरी लुकाउने र नेपाली जनताको परिवर्तनप्रतिको चाहनालाई अगाडि बढ्न नदिने मानसिकताले आएको अफवाहका रुपमा वाम गठबन्धनले चित्रण गरेको छ ।
दुई पार्टीले लोकतन्त्रको नेपाली मोडल र प्रयोग ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई सफल पार्न र विकास गर्ने लक्ष्य लिएका छन् ।