राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले आज शुभकामना सन्देश दिँदै सदियौँदेखि मनाइँदै आएको सो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको उल्लेख गर्नुभएको छ ।
“हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।