पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा माडीका स्थानीयवासी प्रभावित भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज भित्रको जमिनमुनि गाडिएको तारमा खराबी भएका कारण यहाँ विद्युत् सेवा बन्द भएको हो । नेपाली प्राविधिकले खराबी पत्ता लगाउन नसकेपछि प्राविधिकसहित भारतबाट यन्त्र मगाइएको नेपाल विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्ममा यन्त्र नेपाल भित्रिने भएकाले विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने छ ।
उक्त यन्त्र (केवल फल्ट फाइन्डिङ मेसिन) तार गाडिएको माथि हिँडाउँदा खराबी भएको स्थानमा आवाज परिवर्तन गर्छ । त्यसपछि बिग्रिएको थाहा हुन्छ । बिग्रिएर बनेको महिनादिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा माडीमा साउनको ४ गतेदेखि विद्युत् सेवा बन्द भएको हो । जमिनमुनि गाडिएको तार सात ठाउँमा गाँसिएको छ । सोमध्ये दुई ठाउँमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि खराबी पत्ता लगाउन सकिएन ।
परियोजना हस्तान्तरण नहुँदा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समेत राम्ररी हेर्न नपाएको इञ्जिनियर पौडेल बताउनुहुन्छ । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित २०६७ सालबाट भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा यहाँ विद्युत् पु¥याएको थियो ।