राष्ट्रिय जनशक्ति पार्टीका कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र बरिष्ट नेता माधव नेपालले यादव र महासेठलाई एमालेमा प्रवेश गराएका छन् । उनीहरुलाई एमाले प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले एमाले हिमाल, पहाड र तराईका जनताको हित चाहने पार्टी भएको बताएका छन् । एमालेका विरुद्ध तराईमा भ्रम छर्ने काम गरिएको बताउँदै उहाँले त्यो भ्रम धेरै दिन नटिक्ने दाबी गरे । अध्यक्ष ओलीले २ नम्बर प्रदेशको चुनाव राजपाको बहानामा कांग्रेसले पराजय हुने देखेर सारेको आरोप पनि ओलीले लगाएका छन् ।
उनले भने, राजपा त २ नम्बर प्रदेशको चुनाव सार्दा पनि सहमत छैन, तर त्यही राजपाको बहानामा चुनाव सारिएको छ । कांग्रेसले जिल्ला सभापति र त्यो प्रदेशका मन्त्री र सांसदहरुको भेलाबाट एमालेले जित्ने देखेपछि चुनाव सारेको हो । राजपाको आन्दोलन बहाना हो । उनले भने, २ नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ मा सारिएको छ, असोज २ मा चुनाव भए पनि २ नम्बरमा एमालेले बहुमत ल्याउनेछ, ओलीले भने, पहिलो चरणको जस्तो ४५ प्रतिशत होइन, त्यो भन्दा बढी प्रतिशतले जित्नेछ । एमाले देशको समृद्धि चाहने पार्टी हो, झगडा, बैमनस्यता र विद्वेष एमाले चाहँदैन, सद्भाव, सहमति र एकताका साथ अगाडि बढ्ने एमालेको नीति हो । तराईको विकासमा एमाले कति संवेदनशील छ भन्ने कुरा एमालेको सरकारले ल्याएको बजेटबाटै प्रतिबिम्बित भएको छ । तराईको बारेमा एमालेविरुद्ध छरिएको भ्रमबाट मुक्त भएर अनिता यादव र राजेश्वर महासेठ मुक्त हुनुभएको छ । यो संकेतमात्र हो, उहाँहरु जस्तै धेरै भ्रममा परेका तराईका नेतृत्व तहका साथीहरु एमालेमा आउनुहुनेछ । पार्टीमा प्रवेश गर्नेहरुलाई एमालेले उचित जिम्मेवारी दिने अध्यक्ष ओलीले आश्वस्त पारेका छन् ।
एमालेमा प्रवेश गर्ने राजपा कोषाध्यक्ष अनिता यादवले मधेशमा समान अनुभूति, समानता र समृद्धिका लागि राजनीतिमा लागेको २४ बर्ष बितेको बताएकी छिन् । उनले भनिन्, १४ बर्ष एमालेसँगको सहकार्य र २०६४ पछिको दस बर्ष तराई मधेश लोकतान्त्रिक पार्टीसँगको सहकार्यपछि आज पुनः एमालेमा नै प्रवेश गर्ने अर्थात् घर फर्किने संयोग जुटेको छ । मधेश केन्द्रित दलमा बितेका १० बर्षले मलाई मधेशको बिषयमा धरातलीय ज्ञान सिक्ने र सिकाउने अवसर जुटायो । मधेशको समस्या के हो, समाधान किन भइरहेको छैन, अवरोधकहरु को को हुन् रु मधेशको नाममा मधेशमै राजनीतिक उपद्रव मच्चाउने, आम मधेशीलाई पटक पटक क्षति ब्यहोर्नेगरी राजनीति संचालन गर्ने कार्यहरु पनि नजिकबाट देखियो । समग्रमा भन्नुपर्दा आम मधेशीलाई गणतन्त्रको अनुभूति, विकासको सपना र समृद्धिप्रतिको चाहना पूरा गराउने मेरो मूल लक्ष्य प्राप्तीको निमित्त राष्ट्रिय जनता पार्टी नेपाल छाड्नुको विकल्प रहेन । जनतामा दन्द र नेतृत्वमा द्विविधाले समग्रमा मधेशलाई अहित गर्दै थियो ।
‘संरचनागत मतभेद र कार्यगत पूर्वाग्रहबाट माथि उठी मुलुकलाई साझा, विकसित, भयरहित, विभेदयुक्त गर्न जरुरी छ । त्यसका निमित्त एमालेले चालेका पाइलाले सही समाधान दिन सक्छ भन्ने मेरो ठम्याई छ’ नेतृ यादवको भनाइ छ । एमाले प्रवेश गर्ने अनिता यादव २०७० को संविधानसभा चुनावमा धनुषा क्षेत्र नम्बर ५ बाट तमलोपाबाट संविधानसभा सदस्यमा चुनावमा १० हजार मतका साथ तेस्रो भएकी थिइन् । महासेठ धनुषा ७ बाट चुनावमा उम्मेदवार थिए । पार्टीमा प्रवेश गर्ने कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेल, पोलिट्ब्यूरो सदस्य सत्यनारायण मण्डल, राधा ज्ञवाली, नागेन्द्र चौधरी लगायतका नेताहरु उपस्थित थिए ।