धनुबाट छुटेको काँड जस्तै खट्नुस् ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमालेले जित्छ । अरुले एमाले विरुद्ध षडयन्त्र किन गर्छन् भने एमाले बलियो छ । एमाले बलियो भएपछि अरुले लड्न विचार गर्नु पर्छ, योजना बनाउनु पर्छ अनि दलबल गर्नु पर्छ । अरु त्यसरी दलबल गरेर आउन सक्छन् एमालेका विरुद्ध । साँठगाँठ गर्न सक्छन्, षडयन्त्र गर्न सक्छ, अनेक प्रकारका योजना बनाउन सक्छन् । अरुले जतिसुकै साँठगाँठ गरे पनि एमाले पहिलो छ भन्ने कुरा अघिल्लो चरणको चुनावले देखाइसकेको छ ।
एउटा हल्ला छ– मधेसमा एमाले टिक्न सक्दैन, एमालेलाई बढारिन्छ भनेर । चुनाव नहुन्जेल बढारिन्छ । चुनाव भएर गन्ने बेला थाहा पाउला एमाले बढारिन्छ कि मधेसमा को बढारिन्छ ? मधेसका जनताले के सधैं लडाईं झगडा चाहन्छन् ? विकास निर्माण चाहंदैनन् ? के सामाजिक सदभाव चाहंदैनन् ? मधेसका जनता अपराध चाहन्छन् ? हिंसा चाहन्छन् ? होइन शान्ति चाहन्छन्, मेलमिलाप चाहन्छन्, सद्भाव चाहान्छन् । विकास चाहन्छन् । शान्ति एमालेले जितेर मात्रै आउन सक्छ, एमालेको नीतिबाट मात्रै आउन सक्छ । त्यसकारण मधेसका जनता एमालेकै पक्षमा छन् ।
मेयर एउटालाई मात्रै बनाउन पाइन्छ । एउटालाई बनाउँदा सयौं छुट्छन् । छुटेकाले असन्तुष्ट हुन पाईंदैन । म आग्रह गर्न चाहन्छु– यतिबेला एमालेका विरुद्ध विभिन्न शक्ति घेराबन्दी गरेर लागेका छन् । किनभने एमालेलाई कमजोर नपारी यस देशलाई कमजोर बनाउन सकिंदैन । एमालेलाई कमजोर नबनाई यस देशलाई कुल्ली कवाडीको देश बनाउन सकिंदैन, रोजगारी खोज्न विदेशमा भौंतारिनेको देश बनाउन सकिंदैन । त्यसकारण एमालेलाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ । देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, स्वाभीमान, एकता र विकासको रक्षा गर्ने पार्टी हो एमाले ।
यहाँहरुलाई थाहा छ– दैलेखमा पेट्रोल खानी, तेल खानी छंदै थियो । तर, एमालेको सरकार आउनु पर्यो दैलेखको तेल खानी पत्ता लगाउन । एमालेको सरकार देशी विदेशी मिलेर किन हटाइहाल्नु पर्यो भने हामीले त्यहाँबाट पेट्रोल निकालेर बेच्यौं भने नेपाल अरवका देश भन्दा अघि बढ्छ , किनभने यसको जनसंख्या एकदमै कम छ । नेपाल धनी भइहाल्छ । नवलपरासीमा एउटा १२ किलो मिटर पहाड नै फलाम खानी छ । अढाइसय मिटर तलसम्म फलाम छ । त्यहाँ फलाम निकाल्न सकियो भने यहाँ एउटा स्टिल भन्नुस् वा एउटा छड बाहिरबाट ल्याउनु पर्दैन, हामी यहीँबाट आत्मनिर्भर हुन्छौं । हाम्रा बाटा, हाम्रा पुल, हाम्रा घर सबै यही फलामले बन्छ । रोजगारीका अवसर सिर्जना हुन्छ । अनि त्यसैले हाम्रो विकास नहोस् भन्नेहरु आत्तिन्छन् । हामीले कृषिको आधुनिकीकरणको अभियान लग्यौं, त्यसकारण आत्तिए । नेपालको कृषिलाई आधुनिकीकरण गर्न हामीले सुपरजोन र जोनहरु बनायौं । त्यसकारण यिनीहरु आत्तिए ।
म भन्न चाहन्छु साथीहरुलाईः स्थानीय तहको संख्या र सीमा अव परिवर्तन हुँदैन, यही जे छ त्यसैमा चुनाव हुन्छ । असार १४ गतेको मिति सर्छ कि भन्ने शंका गर्नु पर्दैन, सर्नेवाला छैन । त्यो नसोचे हुन्छ । असार १४ गते नै चुनाव हुन्छ । उम्मेदवार साथीहरु ढुक्क भएर लाग्नुस, उम्मेदवारी फिर्ता हुँदैन । नेपालगंज उपमहानगर पालिकाका एमालेका उम्मेदवारहरु शानदार ढंगले जितेको देशभरका एमाले कार्यकर्ताहरु सुन्न चाहन्छन् । अव ४ वटा प्रदेशमा चुनाव हुँदैछ । प्रदेश नम्बर १ एमाले अत्यधिक बहुमतका साथ चुनाव जितेको खवर तपाईंहरुलाई सुनाउन आतुर छ । प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ त्यसैगरी शुभसमाचार सुनाउन आतुर छ । तपाईंहरु अव दुई हप्ता खटेर अरु प्रदेशलाई सन्देश दिनुस् । धनुबाट छुटेको काँड जस्तै खट्नुस् ।