(लक्ष्मी गारु)
भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । यससँगै भक्तपुर जात्राको रौनकमा झुम्न थालेको छ । तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि रथमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।
रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान गर्नु हो । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।
पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्केटको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।
बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ वंशगोलमामा बाराही देवी खौमामा इन्द्रायणी देवीको तिंप्वाः जात्रा गरिन्छ ।
बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ । साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाबाट तानातान गरिन्छ । यसरी रथ तानातान गर्ने क्रममा दुई पक्षबीच झडप हुने गरेको छ । सम्भावित झडपकै कारण भक्तपुरको सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले बताउनु भयो ।
बिस्केट जात्रामा विशेषगरी रथले किचेर र झडपमा ढुङ्गा हानहानमा परी मानिसको मृत्यु हुने गरेको छ । सुरक्षा व्यवस्था कडा पारिएपछि झडप हुने सम्भावना कम हुनाका साथै मृत्यु हुनेमा समेत कम हुने प्रमुख राणा बताउनुहुन्छ । यस वर्ष जात्राको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक हजार एक सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । जात्रामा हुने सम्भावित झडपलाई नियन्त्रण गर्न भक्तपुर नगरभित्र अवैध घरेलु मदिरा बिक्री–वितरणमा रोक लगाएको बताउँदै उहाँले मदिरा बिक्री–वितरण हुने स्थानीय खाजा घरसमेत बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने प्रावधानलाई कडारुपमा कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
जात्रामा हूलदङ्गा गर्नेको पहिचानका लागि चोक चोकमा १४ वटा सिसी क्यामेरा जडान गरिएको छ । जात्रामा हूलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पु¥याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐन र ज्यान मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
सौर्यमासका आधारमा चल्ने बिस्केट जात्रा बिः सित अर्थात् सर्प म¥यो भन्ने अर्थमा लिच्छविकालदेखि मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
यसैबीच जात्रामा हुने सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी गरेको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका घर तथा सार्वजनिक पाटीपौवामा समेत क्षति पुग्ने भएकाले त्यसलाई रोक्न समेत दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जनकारी दिनुभयो ।