काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने भएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको हो ।
बैठकले कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरेको छ ।
सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्न लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी) ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँहरुमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सोही क्रममा उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तयारी छ ।
संक्रमित धेरै देखिएका ठाउँमा भीडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । काठमाडौँका प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्ने गरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ ।
यता, सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठकसमेत बस्ने भएको छ ।
मन्त्रिपरिषद्ले यसअघि नै रात्रीकालीन ब्यवसाय साँझ ८ बजेपछि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो ।