काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बोर्डले नै लिने र जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । मुलुक संघीयतामा गएपछि संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ । एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाएको छैन । मन्त्रिपरषद् वैठकले ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ निर्णय गरेको थियो ।
गत वर्ष कोभिड–१९ को महामारीका कारण परीक्षा नलिई विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।