काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विधि, पद्धति र प्रक्रियाअनुसार हटाए मान्य हुने स्पष्ट गर्नु भएको छ ।
नेकपा गण्डकी स्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवले पार्टीभित्र गुटबन्दी गर्दै शुरुदेखि नै छलछाम गर्ने र अराजकता मच्चाउने काम मात्र गरेको बताउनु भयो । “समृद्ध नेपाल र सुखी नेपाली” आफ्नो संकल्पमा आम जनताको आकांक्षा, देशको आकांक्षा समेटिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि सरकार र नागरिक सबै लाग्न आवश्यक रहेको बताउनुभयो । सो आकांक्षा कतिपयलाई मन नपरेको टिप्पणी पनि उहाँले गर्नुभएको छ ।
विकासको काम रफ्तारमा भइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “यसअघि एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो, तर हामीले एक दिनमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको छ ।”
हिजो (आइतबार) मात्रै ३१ वटा सडक पुलको शिलन्यास गरिएको वताउनु हुँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार बनेको यो तीन वर्षको अवधिमा विकासको ठूलो काम भएको बताउनु भयो । कृषिको आधुनिकीकरण गरी ठूलो रोजगारी सिर्जना भएको बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नु भयो – “हिजोसम्म अरुको उत्पादनको उपभोग गर्ने उपभोक्ता मात्र थियौं, आज हामी कृषि सामग्रीको उत्पादक देश बनेका छौं ।”
सरकारको कामको रफ्तार देखेर केही मान्छे विचलित भएको बताउनु हुँदै उहाँले त्यसलाई अवरोध पुर्याउने काममा लागेको बताउनु भयो । आफूमाथि सम्पूर्ण रुपले अत्यन्त तिव्र ढङ्गले प्रहार भइरहेको पनि बताउनु भयो ।
आफू माथि भौतिक हमला पनि हुनसक्ने सम्भवना रहेको वताउँदै त्यसप्रति आफू सचेत रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।
पार्टीलाई तलमाथि पर्न नदिने र देशको भविष्य अन्धकार हुन नदिने बताउँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार, पार्टीले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताउनु भयो । आफूहरुले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्ने पनि उहाँले बताउनुभयो ।
अहिले अपराधिक तत्वहरुसँग सामना गरिरहनुपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले झुठा लान्छना लगाएर केही पक्षहरुले दुस्प्रचार गरिरहेको टिप्पणी गर्नुभयो ।
पार्टीको सुढृकीकरण र शुद्धिकरणको आवश्यकता रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रलाई सुदृढ बनाउने संकल्पसाथ हामी अघि बढेका छौं, पार्टी भित्रको सानातिना मतभेदमा अल्झिनु हुन्न ।” अरुले अनुशरण गर्नेखालको आचरण सबैको हुनुपर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले खोटरहित महान उद्देश्य पूरा गर्न आफूहरु लागेको प्रष्ट पार्नुभयो ।
पार्टी एकता गरी देश बनाउने उद्देश्यले आफू अघि बढे पनि पार्टीका केही नेताहरु पद र प्रतिष्ठाका लागि लागेपछि पार्टीभित्र समस्या निम्तिएको उहाँले बताउनुभयो ।
पार्टी कब्जा गरी देश बर्बाद बनाउने सोचसाथ प्रचण्ड–माधव पक्ष लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नियुक्ती दिनेले नियुक्ती वदर गर्न सक्छ, नाम लेख्न सक्नेले नाम काट्न सक्छ ।” अर्को पक्ष कसैलाई पार्टीबाट नहटाइएकाले पार्टीमा फर्कन उहाँले सबैलाई आव्हान गर्नुभयो ।
देश फेरि अलमलमा फँसेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला आफूहरुलाई मान्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो “चुनावमा जान डराउने शक्तिहरुको संसदमा अव भूमिका कस्तो हुन्छ हेर्नुछ । ”
प्रचण्ड–माधव पक्ष पदको पगडी बाँध्नेहरुमात्र भएको टिप्पणी गर्नुहुँदै उहाँले युवा पङ्तीलाई मूल नेकपामा समाहित हुन आग्रह पनि गर्नुभएको छ । पार्टी बचाउने काम युवाकै काँधमा रहेको चर्चा गर्दै नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीले कुनै भ्रममा नपरी देश बनाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै सो कार्यक्रममा नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड–माधव पक्षलाई सच्चिने अन्तिम अवसर रहेको बताउनुभयो ।
गत भदौ २६ गतेको निर्णयमा आत्मलोचनासहित फर्किएर पार्टीलाई एकताबद्ध गर्नमा योगदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँहरुले आफ्नो गल्तीप्रति आत्मलोचना गरेमा पार्टी अझ एकतावद्ध हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
समाजवाद विरोधी, पार्टी विरोधी, राष्ट्रियता विरोधी शक्तिको अगाडि आफूहरु नझुक्ने बताउनुभयो ।
यसैवीच सो कार्यक्रममा नेकपा विप्लव समूह र जसपाका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल र गृहमन्त्री बादलले फुलमाला लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।