काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ ।
बुधबार दिउँसो आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राजीनामा दिनुभएको हो ।
कानुनमन्त्री चुमानले आफूहरुले पार्टीको निर्देशनबमोजिम राजीनामा दिएको बताउनुभयो । उहाँले अहिले राजीनामा दिए पनि फेरि सहकार्यको बाटो खुल्ने अपेक्षासमेत व्यक्त गर्नुभयो ।
पार्टीको निर्णय अनुसार हामीले राजीनामा दिएका हौँ’, राजीनामापछि मन्त्री चुमानले भन्नुभयो ‘हामी फेरि पनि सहकार्यको वातावरण बनोस् भन्ने चाहन्छौँ।’
राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री गुरुङले आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो ।
उहाँले सरकारमा रहँदा माओवादीका मन्त्रीहरुले राम्रो काम गरेको र कहिल्यै रिसाउनुपर्ने परिस्थिति नबनेको भन्दै दुवै मन्त्रीको प्रशंसा समेत गर्नुभएको थियो ।
यद्यपि माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
मन्त्रीहरुले राजीनामा दिए पनि सरकारले दिएको समर्थन भने तत्काल फिर्ता लिँदैनौँ’, माओवादी संसदीय दलका नेता रामजी बरालले बताउन्भयो ।
माओवादीले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा परेको छैन । प्रदेश सरकारमा एमालेका २८, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३ र जनता समाजवादीका २ सांसद छन् ।