Margadarsan


  • साहित्यकार शर्मा अभिनन्दित   

    मार्गदर्शन २२ चैत्र २०७७, आईतवार

    काठमाडौँ । अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई आज काठमाडौँमा अभिनन्दन गरिएको छ । साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उहाँले पु-याउनु भएको योगदानको स्मरण गर्दै ८४ वर्ष प्रवेशको अवसरमा उहाँलाई आज अभिनन्दन गरिएको हो ।

    वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्दै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गर्नुभयो । नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा उहाँलाई झण्डै ५० भन्दा बढी सङ्घसंस्थाले अभिनन्दनपत्रका साथ सम्मान गरेको थियो ।

    विसं २०२७ देखि उहाँ अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आउनुभएको छ । साहित्यकार शर्माले भव्य समारोहबीच अभिनन्दन गरेकामा सबैलाई धन्यवाद दिँदै विभिन्न आरोह अवरोहबीच आफूले पत्रिकालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

    समारोहमा स्रष्टा श्रीओम श्रेष्ठले साहित्यिक पत्रकार सङ्घ, नेपाल स्रष्टा समाज, गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत दर्जनौँ संस्थामा रहेर उहाँले नेपाली समाजलाई महत्वपूर्ण योगदान पु-याउनु भएको जानकारी दिनुभयो ।

    सो अभिनन्दन समारोहमा गत वर्ष मनाउने तयारी गरिए पनि कोभिडका कारण एक वर्ष पछि सारिएको हो । समारोहमा किशोर पहाडी, रमा शर्मा, देवीका तिमिल्सिना, पवन आलोक लगायतले साहित्यकार शर्माको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । ‘नगेन्द्रराज शर्मा’ समय ग्रन्थ र ‘यायाबर पुस्तक’समेत विमोचन गरिएको थियो । शर्माका विभिन्न चारवटा साहित्यक कृति प्रकाशित छन् । (रासस)

     

    फेसबुक प्रतिक्रिया