बाँके । बाँकेको नरैनापुरमा भएको भिषण आगलागीमा १ सयभन्दा बढी घर जलेका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएका हुन् ।
आगलागीमा परी सोही गाउँका मिश्रीलाल पासी र उनकी श्रीमतीसहित तीनजना घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको छ । उहाँले घरबारविहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको जानकारी दिनुभयो ।
आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल आगलागी नियन्त्रणका लागि पुगेका थिए । थप एम्बुलेन्स पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो राति १ बजे पूर्णरुपमा निभाइएको थियो । सो आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।