महोत्तरी । भारतबाट उद्धार गरी ल्याइएका सातजना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
घाँस काट्न गएका बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका–८ धरमपुरका सातजना बालिका तथा किशोरीलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।
भारतको सितामढीस्थित रेल्वे स्टेशनमा फेला परेको महोत्तरीको भंगाहा नगरपालिका–८ धरमपुरका सातजना बालिका तथा किशोरीलाई सम्बन्धित परिवारको जिम्मा लगाइएको भंगाह नगरपालिकाका नगरप्रमुख संजिवकुमार साहले जानकारी दिनुभयो ।
सीतामढीबाट उद्धार गरिएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवानलाई बुधबार राती ११ बजेमात्र महोत्तरीको सदरमुकाम जलेश्वर ल्याइएको थियो ।
घाँस काट्न भनेर मंगलबार दिउँसो घरबाट निस्किएका उनीहरू एकाएक सम्पर्कविहीन बनेका थिए ।
घाँस काट्न गएको बेला बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।
नेपाल प्रहरी प्रदेश–२ का प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार मंगलबारै भारततिर छिरेका सातैजनालाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको र अबेर राति मात्र नेपाल ल्याइयो ।
भारतीय प्रहरीले फेला पारेपछि ‘गायिका’ बन्न भारततिर हिँडेको उनीहरूले बयान दिए पनि नेपाली सुरक्षा अधिकारी र बेपत्ता भएका किशोरी–बालिकाको परिवारले भने उनीहरूलाई भारततिर लैजाने गिरोह नै रहेको आशंका गरेका छन् । भारतीय सुरक्षाकर्मी एसएसबीसँग समन्वय गरेका सशस्त्र प्रहरी प्रदेश–२ प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले किशोरी–युवतीलाई गाइड गरेर भारत लगेको बताउनुभयो ।
महोत्तरी प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि उनीहरू आफैं भारततिर गएको देखिँदैन । घाँस काट्न हिँडेका सातैजनालाई भारत लैजान वारिपारि दुवैतिर सवारीसाधन प्रयोग गरिएको प्रहरीको भनाइ छ । सीतामढीमा फेला परेका सातै किशोरी–बालिकालाई लिन सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डमा एक टोली परिवारका सदस्यसहित बुधबार भारत पुगेको थियो । यो टोली दिउँसै सीतामढी पुगे पनि कागजी प्रक्रिया लम्बिँदा उनीहरूलाई बुधबार अबेर राति नेपाल ल्याइएको हो ।