काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा सत्तारुढ दल नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आइतबारदेखि संसद अधिवेशन शुरु हुने भएकाले त्यसमा नेकपाका सांसदहरूको भूमिका कस्तो हुने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जानकारी सो दलका मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो । सो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरूलाई बोलाइएको छ ।
नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने सो बैठकमा दलका नेता केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित संघीय संसद्का नेकपाका सबै सांसदलाई बैठकमा सहभागी हुनका लागि खबर पठाउन लगाउनुभएको जानकारी मुख्य सचेतक भट्टराईले दिनुभयो ।
कानुनी रुपमा नेकपा विभाजन नभइसकेको अवस्थामा संसदीय दलको नेता केपी शर्मा ओलीबाहेक अरुलाई कानुनले नचिन्ने र दलको नेता हटाउने प्रकियामा अर्को पक्षले विधान बमोजिम कुनै निवेदन समेत नदिएको अवस्थामा नेकपाको संसदीय दल एउटै रहेको भट्टराईको भनाइ छ । संसद सचिवालयले भट्टराईलाई नेकपाको मुख्य सचेतको मान्यता समेत दिइसकेको छ ।