Margadarsan


  • प्रधानमन्त्रीका विषयमा हतार नगरौं : सभापति देउवा

    मार्गदर्शन २१ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले अहिले नै प्रधानमन्त्रीका विषयमा ठोस निर्णय गर्न हतार नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा समेत हतारो नगर्ने अभिव्यक्ति दिनुभयो ।
    आज बसेको दलको बैठकमा सभापति देउवाले सबै पक्षसँग आफ्नो छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतारो गर्न नहुने बताउनुभएको हो ।

    कांग्रेस संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेबारेमा पर्याप्त छलफल भएको जानकारी कांग्रेस सांसद संजय गौतमले दिनुभयो । सभापति देउवाले यस विषयमा आफ्नो सबै पक्षहरूसँग छलफल भइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पाइएला भनेर हतार हतारमा निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

    सभापति देउवाले राजनीतिक घटनाक्रमलाई नियालेर मात्र कांग्रेस अगाडि बढ्ने धारणा राख्नुभएको छ । प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल पक्ष कसरी अघि बढ्छन् त्यो हेर्नुपर्ने भन्दै संसदीय दलमा आफ्ना कुरा राख्नुभएको थियो ।
    सभापति देउवाले सबै परिस्थितिको आँकलन नगरी हतारमा निर्णय नगर्ने विचार राख्नुभयो । उहाँले दलले कोरोना खोपलाई प्रभावकारी वितरण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो । त्यससँगै कोरोनाका कारण भएको लक(डाउनपछि पर्यटन व्यवसाय पछि धकेलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने अर्को निर्णयसमेत बैठकले गरेको सचेतक पुष्पा भुसालले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया