काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो । फागुन २२ गतेदेखि सुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
फागुन २२ मै नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच दोस्रो खेल हुनेछ । यी दुई टोलीबीचको खेल भने मूलपानी क्रिकेट मैदानमा हुनेछ । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र काठमाडौं मेयर ११ गरी ५ टोली सहभागी हुने छन् ।
काठमाडौं महानगपालिकाको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । प्रतियोगिताका लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख रुपैयाँ दिने बताइसकेको छ ।