काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेट गरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गर्नुभयो ।
उहाँले भौगोलिकरुपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्रीसमक्ष अनुरोध गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।
जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो।
उहाँले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउने गरी मन्त्रालयले निर्णण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताउनुभयो । रासस