काठमाडौं । ताप्लेजुङका आगलागी पीडितलाई सरकारले उचितरुपमा व्यवस्थापन गर्ने भएको छ ।
आगलागी पीडितको व्यवस्थापनको प्रबन्ध गर्न आग्रह गर्दै गृह मन्त्रालयमा पुगेको सर्वपक्षीय टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले आगलागी पीडितको उचित व्यवस्थापन सरकारले गर्ने बताउनुभएको छ ।
ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री थापालाई आगलागी पीडितको व्यवस्थापनका लागि अनुरोध गरेको थियो । टोलीले उनीहरुको बस्नेखाने आधार नै समाप्त भएकोले तत्काल बस्ने खाने व्यवस्था मिलाउन गृहमन्त्री थापासमक्ष अनुरोध गरेको थियो ।
त्यस्तै सो अवसरमा प्रतिनिधि मण्डलले आवास पुनर्निर्माणको निम्ति भूकम्प पीडितको मापदण्डका आधारमा उनीहरुको आवास पुनर्निर्माण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । क्षति भएका सार्वजनिक स्थलको पुनर्निर्माण र पहाडी जिल्लामा आगलागी नियन्त्रणको उपाय खोज्न समेत टोलीले गृहमन्त्री थापालाई अनुरोध गरेको थियो ।
प्रतिनिधिमण्डललाई सरकारका तर्फबाट राहतको काम सुरु भइसकेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । टेन्टलगायतका सामान मंगलबार नै पुगिसकेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । उक्त अवसरमा तत्कालका लागि १५ हजार नगद प्रदान गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै खाद्यान्न लगायतका सामग्री आज पठाउन लागिएको उहाँले बताउनुभयो । क्षतिपूर्ति र आवासका लागि मापदण्ड बनाएर रकम उपलब्ध गराउने वा आवास नै निर्माण गरिदिने भन्ने बारेमा पनि तत्काल निर्णय गरिने जानकारी गृहमन्त्री थापाले गराउनुभयो ।
आवास निर्माणको लागि ५ लाख रुपैँया उपलब्ध गराउने सरकारको नीति भएको उहाँले बताउनुभयो । यदि उनीहरुको जग्गा नै काम नलाग्ने अवस्थामा भए थप सहयोग पनि सरकारले उपलब्ध गराउने गृहमन्त्री थापाले जानकारी दिनुभयो ।
मंगलबार भएको आगलागीबाट दोभान बजारका करिब ५० घर जलेर नष्ट भएका छन् भने आगलागीबाट बजार नै जलेर ध्वस्त भएको थियो ।