रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विद्यमान राजनीतिक समस्याको निकास कांग्रेसले मात्र दिन सक्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस सधैं सत्यको पक्षमा मात्र लाग्ने बताउनुहुँदै सभापति देउवाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा सत्यलाई मात्र साथ दिने बताउनुभयो ।
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरस्थित श्री विष्णु महायज्ञको उद्घाटन गर्न आउनुभएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको छ ।
यज्ञको उद्घाटन गर्नुअघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो । काँग्रेस आमनेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छन् उसैलाई नै आफूहरुले साथ दिने सभापति देउवाले बताउनुभयो । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन काँग्रेस जुनसुकै चुनौतीलाई पनि सामना गर्न तयार रहेको उहाँको भनाइ थियो ।