चाल्र्स डार्बिनको क्रमिक विकासमा आधारित सिद्धान्तअनुसार आवश्यकता र समयले महिला र पुरुषको जन्म भयो अर्थात् निर्माण भयो । भौतिकवादको सिद्धान्तअनुसार पनि दुई विपरीत तत्वहरुको एकताको नियमअनुसार महिला पुरुष एकअर्कामा जरुरी भयो । त्यसैले नर र नारी एक रथका दुई पांग्रा हुन् । एक नभई अर्कोको अस्तित्व समाप्त हुन्छ । यति हुँदाहुँदै पनि समाजमा महिलाले पु-याएको योगदानको चर्चा पुरुषको तुलनामा कम भएको छ । साँच्चै भन्ने हो भने महिलाहरुले समाजमा पु-याएको योगदान उच्च कोटिको हुनुका साथै उल्लेखनीय छ ।
महिलाहरुले घर तथा समुदायमा पु¥याएको योगदान, जागिरेको रुपमा, आमाको रुपमा, दिदीबहिनीको रुपमा, छोरी, कामदार, नेता र एक नागरिकको रुपमा प्रदान गरेको योगदानलाई उच्च सम्मान गर्नुपर्छ । समाज रुपान्तरण गर्नका लागि महिलाहरुले स–साना कामदेखि ठूला ठूला पदमा पुगेर आफ्नो भूमिका अहं रहेको प्रमाणित समेत गरिसकेका छ । कुनै पनि पुरुषको उच्च सफलतामा महिलाको ५० प्रतिशत योगदान रहेको हुन्छ ।
माक्र्सलाई संसारको माक्र्स भनेर चिनाउने कुरामा सहयोग गर्ने उनकै श्रीमती जेनी माक्र्स हुन् भने माओत्सेतुङलाई सहयोग गर्ने पनि उनकै श्रीमती चिमलिङ हुन् । हाम्रै देशमा पनि विभिन्न नेताहरुलाई उच्च तहमा पु-याउन अहोरात्र खटेर श्रीमतीले सहयोग गरेको इतिहासलाई कसैले पनि बिर्सनुहँुदैन । पुरुषहरु विदेशमा कमाइ गर्न गएका हुन्छन् भने महिलाहरुले घरको रेखदेख र हेरचाह गर्ने कुरा कम मूल्यवान छैन । महिलाहरुलाई सुत्केरी हुँदा महिला नै सहयोगी भएर पु¥याएको सेवा, नर्स भएर अस्पतालमा बिरामीलाई पु¥याएको सेवा, बालविकासमा बाल शिक्षा सहयोगीको रुपमा प्रदान गरेको सेवा होस् कि हेल्थपोस्टमा ग्रामीण स्वास्थ्य कार्यकर्ता भएर पु¥याएको सेवालाई कसैले कम आँकलन गर्नु महिलाहरुमाथिको अन्याय हो ।
महिलाहरु धर्म संस्कार, रितिरिवाज र सामाजिक मूल्य मान्यतालाई जोगाउन निरन्तरता दिनेदेखि पुरुषको अस्तित्व जोगाइदिने योगदान महिलाबाटै भएको हुन्छ । यति धेरै लेखेरै नसकिने, भनेर नसकिने, गनेरै नसकिने जस्ता तमाम योगदान छन् । तर पनि महिलालाई अहिलेसम्म पनि किन दोस्रो दर्जाको नागरिकमा हेर्ने गरिन्छ ? यो चिन्ताको विषय बनेको हो ।
विश्वमा महिलाहरुको संख्या झण्डै आधा रहेको छ । समाजमा महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्राका रुपमा लिइन्छ । यदि एउटा पाङ्गा बिग्रियो भने त्यो समाज दुर्घटित हुन्छ । त्यसैले समाजलाई विकासको पथमा अगाडि बढाउनका लागि महिलाहरुको भूमिकालाई हामी कसैले नकार्नु हाम्रो मूर्खता हो । समाजका केही निकृष्ट विचार भएका तत्वहरुका कारण नारीहरुको अपमान हुँदै आएको छ । महिलाहरुको महिमालाई नकार्नेहरु समाजका कुतत्वहरु हुन् । यस्ता कुतत्वहरुलाई हामी सबैले बेलैमा सजाय दिनु नै सबैको हितमा छ ।
सन्दर्भ हो नेपालका आफूलाई उच्च तहको नेता भन्न रुचाउने तर कसैले नमान्ने कुतत्वका व्यक्तिहरु रघुजी पन्त र भीम रावल । यी दुवैले नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाकी सांसद कोमल ओलीको अपमान गरेका छन् ।
सम्माननीय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भीम रावलले समग्र महिला जातिको अपमान हुनेगरी अभिव्यक्ति दिए । यसबाट उनले आफूलाई नै होचो बनाए । यसको मूल्य आगामी चुनावमा उनले अवश्य नै चुकाउनुपर्ने देखिन्छ । उनले आफू जन्मिएको धरातल मात्र बिर्सेका छैनन्, आफूलाई नेता बनाउने आमनेपाली महिलाहरुको चरित्रहत्या नै गरे । रावलले आफू जन्मिएको धरातल बिर्सिए । महिलाहरुलाई हेला, होचो र अपमान गर्ने व्यक्ति रावललाई समग्र नेपाली महिला र सचेत नागरिकहरुले पहिचान गरेर सामाजिक रुपमा नै बहिस्कार गर्नु पर्दछ । अन्यथा यस्ता कुप्रवृत्तिहरुले महिलाहरुको बारम्बार चरित्रहत्या गर्नेछन् । महिलाको किड्नी लगाउँदैमा उसको दिमाग बिग्रिने हो भने भीम रावल महिलाकै गर्भबाट जन्मिएका हुन् । तपाई चाहिँ आफूलाई कस्तो चरित्रमा गणना गर्नुहुन्छ ? रावलजी तपाईंको निकृष्ट र नीच विचारले समग्र महिलाहरुको अपमान भएको छ । यसको क्षतिपूर्ति पक्कै भविष्यले गर्नेछ ।
राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्तले हदैसम्म तल गिरेर चरित्र हत्या गर्ने विचार व्यक्त गरे । राजधानीमा आयोजित एक कार्यकर्ता भेलामा पन्तले ‘कोमल ओलीले सारी सर्काएर गोरा पिँडुला देखाएर सांसद पद पाएको’ निकृष्ट विचार राखे । यसबाट आमनेपाली महिलाहरुको अपमान भएको छ । पन्तले समग्र महिला सांसद र नेपाली महिलाहरुको मात्र नभई विश्वका प्रतिष्ठित महिलाहरुकै चरित्रहत्या गर्ने काम गरेका छन् । विश्वमा महिलाहरुले देखाएको योगदानलाई उनले ठाडो रुपमा हत्या गरेका छन् । उनले आफूलाई जन्म दिने आमाको समेत चरित्रलाई चुनौती दिए ।
आधा धर्ती ओगटेका सयौं महिलाहरुले उच्च ओहोदामा पुगेर विश्वलाई नै हल्लाएका छन् । विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, राष्ट्राध्यक्षदेखि उद्यमी, सेलिब्रेटीदेखि सामाजिक कार्यकर्तासम्म महिला भएका छन् । साँच्चै नै विश्वलाई हल्लाउने ताकत महिलाहरुले राखेका छन् । बर्मेली राजनीतिज्ञ आङ साङ सुकी, बेलायती महारानी एलिजावेथ, अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्ड, अमेरिकी सभामुख न्यान्सी पोलिसी, थाइ प्रधानमन्त्री यिङलक सिनावात्रा, विश्वकै धनी महिना जर्जिना रिनेहार्ट, ह्यारि पोर्टरकी लेखिका जेके रोलिङ, कतारी राजाकी छोरी सेख गायमा अल थानी जस्ता चर्चित महिलाहरुले यो विश्वमा आफ्नो नाम स्वर्णाक्षरले अंकित गरेका छन् । के यी र यस्ता महिलाहरु पनि सेता पिँडुला देखाएर विश्वमा चर्चाको शिखरमा पुगेका हुन् रघुजी पन्तजी ? पक्कै होइनन् । नेता रघुजी पन्तको ध्यान यतातिर जाओस् ।
यसैगरी जर्मन चान्सलर एन्जेला मार्केल, तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ, छिमेकी मुलुक भारतकी सत्तारुढ संयुक्त मोर्चाकी संयोजक सोनिया गान्धी, अमेरिकी राष्ट्रपति बराक ओबामाकी ४८ वर्षे श्रीमती मिचेल ओबामा जस्ता विश्व चर्चित महिला राजनीतिज्ञहरु रहेका छन् । यी सबै नेतृहरुले आफ्नो योग्यता र क्षमताको प्रदर्शन गरेर विश्वमा चर्चा बटुलेका हुन् । यी र यस्ता महिला नेतृहरुको उच्च सम्मान विश्वले गरेको छ । राष्ट्रिय सभाकी नेकपा सांसद कोमल वली एक चर्चित गायिका, समाचार वाचिका हुन् । नेपाली समाजमा उनले पु-याएको योगदान उच्च छ । राष्ट्रिय सभाकी सांसद कोमल वलीको विषयमा रघुजी पन्तले निकृष्ट ढंगले सार्वजनिक टिप्पणी गरे । त्यसैले पन्तमाथि कानुनी कारबाही नै गर्नुपर्छ । ताकि आगामी दिनमा कुनै पनि व्यक्तिले महिलाहरुको चरित्रहत्या गर्न सयौंपटक विचार गरोस् । यसका लागि सम्पूर्ण महिला एवं नागरिकहरु एकजुट हुनु आवश्यक छ ।