काठमाडौँ । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाईअहिलेसम्मकै घातक भनेको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुनलगायतका शहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ।
सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् ।
आङ सान सू चीलगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ। सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ ।
बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ । सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ। उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ । – बिबिसी