काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तविरुद्ध अदालत जाने बताएकी छिन् ।
प्रचण्ड–माधव पक्षका नेता पन्तले नेत्रृ वलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै उनले न्यायका लागि अदालत जाने बताएकी छिन् ।
गृह जिल्ला दाङमा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्दा दायर गर्ने बताएकी छिन् ।
जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको स्पष्ट गर्दै वलीले बताएकी छिन् । प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको स्पष्ट गर्दै वलीले भनेकी छिन् – ‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन । अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ । त्यसमध्येको म पनि एउटा पर्छु ।’
नेता पन्तले पिडौंला देखाएको आधारमा वलीले राष्ट्रिय सभाको सदस्य भएको आरोप लगाएका थिए ।
वलीले सामाजिक सञ्जालमा लेखेकी छिन् “हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ । पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ ।”
यसैवीच पन्तको सो अभिव्यक्तिलाई महिलाहरुले मात्र होइन, पुरुषहरुले समेत चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जालहरुमा पन्तको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै धेरैले महिला नेतृको अपमान गर्ने पन्तले क्षमायाचना गर्नुपर्ने तर्क गरेका छन् ।
यसैवीच नेकपाको ओली पक्षीय नेता एवं प्रतिनिधि सभा सदस्य निरुदेवी पालले राजनीति गर्ने महिलाहरूमाथि पटकपटक आक्रमण हुने गरेको टिप्पणी गरेकी छन् ।
नेकपाको प्रचण्ड–माधव पक्षीय नेता पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा गरेको टिप्पणीलाई लक्षित गर्दै नेतृ पालले राजनीतिमा लागेको महिलामाथि किन पटकपटक हमला हुन्छ भनेर प्रश्न उठाएकी छन् ।
उनले पितृसत्तात्मक सोच र चिन्तनबाट कहिले माथि उठ्ने होला भन्दै आश्चार्य समेत प्रकट गरेकी छन् । ल्यारकेल लामा र विनोद चौधरीहरूलाई सांसद र मन्त्री बनाउँदा यस्ता खालका टिप्पणी नआएको तर, पुरुषभन्दा अब्बल क्षमता भएपनि महिला भएकै कारण महिला सांसदको चरित्रमाथि हमला गर्ने गरिएको उनले उल्लेख गरेकी छन् ।