काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईले पाउनु भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज भट्टराईलाई सो जिम्मेवारी दिनु भएको हो । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो ।
दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको हो । ‘आज शुक्रबारबाट लागू हुनेगरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सांसद भट्टराईलाई सो जिम्मेवारी दिनुभएको हो” उहाँले भन्नुभयो ।
नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।
नयाँ जिम्मेवारी पाएपछि आफू उत्साहित भएको बताउनुहुँदै प्रमुख सचेतक भट्टराईले दलको भावना अनुकुल काम गर्ने प्रतिवद्धता जनाउँदै संसदीय दललाई प्रभावकारी र चुस्त बनाउनमा लाग्ने बताउनु भएको छ ।