काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसलालाई स्वागत गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।
मुलुकको विकसित समग्र विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको वैठक र संसदीय दलको वैठक बोलाउने विषयमा छलफल भएको पनि प्रवक्ता ज्ञवालीले बताउनु भएको छ । बैठकले सर्वौच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला पछि पनि पार्टीको देशका विभिन्न भागमा निर्धारित कार्यक्रममालाई निरन्तरता दिने तर स्वरुप परिवर्तन गरिने निर्णय गरेको छ ।
पत्रकारहरुले पार्टी एकताको संभावनाबारे राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीले पर्टीको एकतालार्इ ध्यानमा राखेर कतिपय विषयमा गम्भीर मतभिन्नता भए पनि कसैलाई कारवाही नगरेको र पार्टीलाई एकतावद्ध गरेर लाने प्रयास जारी रहेको बताउनुभएको छ ।
सर्वोच्चको फैसला पछि मुलुकको राजनीति कता जान्छ भन्ने विषय पर्खनु पर्ने अवस्था रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । नेपाली जनता मुलुकमा स्थिर सरकार र बलियो राजनीतिक दल चाहेको बताउनुभयो । मुलुकले लिएका नीति अवरुद्व नहुने सुनिश्चितका लागि प्रधानमन्त्रीले राजनीतिक दल लगायत सवै संग छलफल गर्ने उहाँले बताउनुभएको छ ।
मुलुकलाई अन्योलमा राख्न हुन्न भन्ने आफूहरुको मान्यता भएकोले प्रधानमन्त्रीले त्यसै अनुसार अगाडि बढने प्रवक्ता ज्ञवालीले पत्रकारलाई जानकारी दिनुभएको छ ।