काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ जेठको तेस्रो साता र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा अन्तिम साता लिने गरी तयारी सुरु गरिएको जनाएको छ ।
यसले विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुने वोर्डले जनाएको छ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो ।
एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जनाउँदै सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन बोर्डले गरेको छ ।
बोर्डले भनेको छ “यस पटक कोरोना भाइरस सङ्क्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन ।” सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यस पटक कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ ।
हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ । फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा कक्षा १२ को समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् । कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने छ । गत वर्ष सरकारले कक्षा ११ को परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायतको अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको थियो ।
सरकारले नयाँ कुनै नीतिगत निर्णय गरेबाहेक कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डका उपाध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले दिनुभयो । एसईई र कक्षा १२ को परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने उहाँले बताउनुभयो ।