Margadarsan


  • गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

    मैले देश बनाउने आन्दोलन भनेको उनीहरुले नारा जुलुश बुझेछन्

    मार्गदर्शन १० फाल्गुन २०७७, सोमबार

    कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

    दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो ।

    महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”

    अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो ।

    मैले देश बनाउने आन्दोलन भनेको उनीहरुले नारा जुलुश बुझेछन्
    प्रधानमन्त्री ओलीले देश चुनावमय भएको बताउनु भएको छ । प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै उहाँले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।
    उहाँले आफूले अदालतलाई धम्की वा दबाब नदिएको पनि स्पष्ट पार्नुभयो । ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन् । तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन ।’
    प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि रचनात्मक आन्दोलन गर्न चाहेको प्रष्ट पार्नुभएको छ । उहाले आफूले अन्य पार्टी जस्तो ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनि लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’ उहाले अगाडी भन्नुभयो, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन ।’
    ‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिदै प्रधानमन्त्रीले भन्नुभयो , ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’ कार्यक्रममै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको पनि बताउनुभएको थियो ।

    सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया