काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दुई हप्ता भित्रमा थप २० लाख डोज कोरोना खोप आउने बताउनु भएको छ । मन्त्री त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने जानकारी दिनुभयो ।
‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसके र आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने मन्त्री त्रिपाठीले बताउनु भयो । उक्त खोप फागुन २३ गतेदेखि जोखिम समूहमा रहेका ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई लगाइनेछ। यसअघि अस्पताल र खोप केन्द्रबाट लगाइएको कोरोनाको खोप अब समुदायमा गएर लगाइने तयारी भएको मन्त्री त्रिपाठीले बताउनुभएको छ ।