Margadarsan


  • प्रदेश २ सरकार नारामा मात्रै सीमित

    सुनिता साह २९ माघ २०७७, बिहीबार

    पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १४ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि जनताले महसुस गर्न पाएनन् । मधेश आन्दोलनकै नाममा केही मधेशी नेताहरू मन्त्री बन्न सफल भए पनि आम मधेशी जनताको जीवनमा त्यसको कुनै असर परेको छैन । यद्यपी माघ ५ लाई मधेशले ‘बलिदानी दिवस’को रूपमा सम्झने गरेको छ । सुरूका दिनमा बलिदानी दिवसको अवसरमा खुब तामझामका साथ दिवसको स्मरण गरिन्थ्यो भने शनैः शनै त्यो विस्मृत हुँदै गएको छ ।
    किनभने आन्दोलन जति पुरानो हुँदै जान्छ त्यो आन्दोलनको विरासत पनि कमजोर हुन्छ । केही वर्षअघिसम्म बलिदानी दिवस मनाउन मधेशी दलहरूबीच अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो । २०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै काठमाडौंको माइतीघरमा तात्कालीन मधेशी जनअधिकार फोरमले अन्तरिम संविधानको प्रतिलिपि जलाएको थियो । संविधानको प्रतिलिपि जलाएको आरोपमा फोरमका अध्यक्ष उपेन्द्र यादव सहितका दर्जन बढी नेता गिरफ्तार भए ।

    सुनिता साह

    नेताको गिराफ्तारीको विरोधमा मधेशका जिल्लाहरूमा आन्दोलन सुरू भयो । राजमार्गमा टायर बालेर सुरू भएको जक्काजाम आन्दोलन माघ ५ गते लहानबाट जनविद्रोहको रूपमा मधेशभर फैलियो । २०६३ माघ ५ गते सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेश महतोको निधनको भएको थियो । त्यससँगै मधेश आन्दोलन उठेको हो । त्यही आन्दोलनबाट धेरै मधेशी नेताको उदय भएको र उनीहरू स्थापित पनि भए । धेरै मन्त्री पनि भए । तर मधेशी जनताले के पाए भन्ने प्रश्नको जबाब अहिले पनि मधेशले खोजिरहेको छ ।
    मधेश आन्दोलनको बलमा मधेशी जनताको सेन्टिमेन्ट लिएर अहिले मधेशी दलकै नेतृत्वको सरकार छ । तर शहीद परिवार र घाइतेहरुको प्रदेश २ मा विजोग छ । शहीदको नाममा प्रदेश सरकारका मन्त्रीहरुले गैरशहीद परिवारलाई राहतहरु मात्र वितरण गरिरहेको छ । यसको ज्वलन्त उदाहरणको रुपमा सप्तरीका शहीद दिलिप साहको परिवार हो । मन्त्रीले शहीद परिवारलाई भनेर भैंसी वितरण गरे तर शहीद दिलिप साहका परिवारलाई दिइएन । आफ्ना नातागोता वा कार्यकर्ताहरुलाई मात्रै राहतहरु दिइरहेका छन् । कतिपय यस्ता मानिसहरुलाई पनि बाँडिएको जो मधेश आन्दोलनका बेला देखिएका पनि थिएनन् । मधेश आन्दोलनका शहीद परिवारलाई ५० लाख दिलाउने प्रतिबद्धता गरे तर अहिले कसै–कसैलाई भैंसी दिने वा जागिर लगाइदिने आश्वासन मात्र दिइरहेका छन् । अहिलेसम्म एउटा पनि प्रतिबद्धता पूरा गरेको छैन ।
    प्रदेश २ का जनता प्रदेश २ को सरकारबाट आजीत भइसकेका छन् । शहीद परिवारले अहिलेसम्म जागिर पाएकै छैन । उनका परिवारहरु झन् ऋणमा डुबेका छन् । शहीद परिवारको नाममा ककसले नियुक्ति पाएका छन् र ककसले सेवा सुविधा उपभोग गरिरहेका छन् त्यसको त तथ्यांक नै हेर्नुपर्छ । प्रदेश २ का मन्त्रीहरुले यतिसम्म गरेका छन् कि उनीहरुले आफ्नै परिवारका चार पाँच जनालाई स्वकीय सचिवको नाममा राज्यको ढुकुटीबाट खाइरहेका छन् । उनीहरु आफ्नै श्रीमती, छोरा, भतिजा, सालो आदिका नाममा सरकारी पैसा खाएको यथेष्ट प्रमाणहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै यसका बारे उजुरीहरु परेका छन् । म त अख्तियारसँग आग्रह गर्न चाहन्छु कि त्यस्ताहरुका बारे चाँडोभन्दा चाँडो छानबिन गरेर कारबाही गरोस् ।
    प्रदेश २ को सरकारले सबभन्दा बढी काम गरेको छ भन्ने दाबी गरिरहेको छ । तर विकास भएको भए देखिन्थ्यो नि । जनताले आभाष र अनुभूति गर्नुप¥यो नि । अब आउने चुनावमा समुद्रमा मन्थन हुँदा विष र अमृत निस्किन्छ त्यसरी नै जनताले अमृत र विषको पहिचान गरेर मतदान गर्छन् । यिनीहरु वास्तवमा ढोंगी हुन्, परिवारवाद, द्रव्यवाद, नातावादका लिन्छन् भनेर जनताले राम्ररी बुझिसकेका छन् । प्रदेश २ को सरकारले बेटी बचाउ बेटी पढाउ अभियान ल्यायो, छोरी बीमा कार्यक्रम ल्यायो ती सबै कहाँ गयो ? जति पनि कार्यक्रम ल्याएको छ ती सबै नारामा मात्रै सीमित छन्, कुनै पनि सफल भएको छैन ।
    महिला हिंसा सबभन्दा बढी प्रदेश २ मै हुन्छ, अहिले पनि यो क्रम रोकिएको छैन । उहाँहरुले बडो राम्रोसँग सफाइ दिन्छन् कि हाम्रो बेटी सुरक्षित छन्, हामी बेटीलाई शिक्षा दिइरहेका छौं, साइकल वितरण गरिसक्यौं, महिला सशक्तिकरण गरिसक्यौं लगायतका कुराहरु भाषण गर्छन् । तर कतिको उहाँहरुले गर्नुभएको छ, त्यसको आभाष त महिलाले गर्नुपर्ने हो ।
    हुन त म पनि त्यहीं पार्टीमा आबद्ध थिए तर पार्टीले गर्ने गरेको गलत कुराहरु जहिले पनि प्रतिकार र आलोचना गरिरहें । सही कुरा उठाउँदा पार्टीको लाइनभन्दा विपरीत हुँदैन । गलतलाई गलत भन्ने आँट हरेक पार्टीका नेता कार्यकर्ताहरुमा हुनुपर्छ । जो वास्तवमा एउटा राजनीतिक संस्कार छ । मैले जसरी महिला अधिकारका लागि आवाज उठाएको थिएँ, त्यसका लागि पार्टीले मलाई कारबाही गर्ने गरी प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसपछि पुनः म त्यो पार्टीमा गएको छैन । म त्यस्तो पार्टीमा बस्न पनि चाहँदिन । पार्टीलाई हामीले जन्म दिन्छौं, पार्टीले हामीलाई जन्म दिने होइन । गलतको कुराको म जहिले पनि प्रतिकार गरेको छु र आगामी दिनमा पनि गर्छु । किनभने जनताका लागि हामी काम गर्ने हो, जनता हाम्रो लागि काम गर्ने होइन । हामी जनताका सेवक हौं र हाम्रो मूल उद्देश्य सेवा गर्ने नै हुनुप¥यो ।
    (सामाजिक अभियन्ता साहसँगको कुराकानीमा आधारमा मधेश दर्पण फिचर सेवाले तयार गरेको सामग्री)

    फेसबुक प्रतिक्रिया