काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कहिल्यै उपनिवेशमा नपरेको र कुनै युद्ध नहारेको स्मरण गर्दै नेपालको खेलकुद क्षेत्रमा पनि उत्कृष्ट ठहरिनु पर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज राजधानीमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘अंग्रेजसँगको लडाइँ खुकुरीले नै जित्ने नेपालीले फुटबल, क्रिकेट जस्ता खेलमा यत्रा–यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई स्वर्ण पदक र काश्य र रजत पदक अरुलाई पार्नेगरी खेलकुदमा लाग्न खेलाडीलाई सुझाव दिनुभयो ।
खेलकुद क्षेत्रलाई अनुपात्पादक क्षेत्रको रुपमा बुझ्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई अगाडि बढाउन सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले खेलबाट मानव शरीर स्वस्थ्य हुने र स्वस्थ्य मानिसबाट उत्पानको क्षेत्रमा ठुलो योगदान हुने बताउनुभयो । खेलकूदले शारीरिक मात्र नभइ स्मरण शक्ति बढाउने भन्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई यस क्षेत्रमा लाग्न पनि सल्लाह दिनुभयो।
प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने र जेठ १५ गते आउने बजेटमा खेलकुद क्षेत्रका लागि पर्याप्त मात्रामा छुट्याउने बताउँनुभयो ।
प्रधानमन्त्री ओलीले खेलमा हुने जित र हारको ठूलो अर्थ रहेजस्तै अन्य क्षेत्रमा पनि जित र हारको विषयले ठुलो अर्थ राख्ने बताउनुभयो । उहाँले फरक प्रसंगमा चुनावमा हारिने डरले प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा पुनरस्थापित हुनुपर्छ भनेर लागिपरेको बताउनु भयो ।
कतिपय मानिसहरुका लागि जित, हार ‘इगो’को विषय बन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले कतिपय मानिसलाई संसद पुनर्गठन होला भन्ने लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद विघटन पनि जित र हारको विषय बनिरहेको छ। संसद भंग भइसक्यो, चुनाव आउन लागिसक्यो, केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन् । केहीका लागि होइन, जिते भन्ने पार्नका लागि । चुनावै गएर जित्ने ठाउँ छ नि । तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्नेहरु छन् ।’